• १५ जेष्ठ २०८१, मंगलवार
  • 11:46:29 PM

काेशी प्रदेश मुख्यमन्त्री थापा पदमुक्त, हिक्मत कार्कीलाई नियुक्त गर्न सर्वाेच्चकाे परमादेश

- भाद्र २१, २०८० मा प्रकाशित


  • सुनील पाैडेल
  • बिहिवार , २१ भदाै २०८० / काठमाडौं

सर्वोच्च अदालतले आज नेकपा एमालेका नेता एवम्  काेशी प्रदेशसभा सांसद हिक्मत कार्कीलाई प्रदेशको मुख्यमन्त्रीमा नियुक्त गर्न आदेश दिएको खबर सार्वजनिक भएकाे छ ।

न्यायाधीशत्रय सपना मल्ल प्रधान,  कुमार चुडाल र नहकुल सुवेदीको पूर्ण इजलासले संविधानको धारा १६८ काे उपधारा ३ बमोजिम ४८ घण्टा भित्र कार्कीलाई मुख्यमन्त्रीमा नियुक्त गर्न काेशी प्रदेश प्रमुखको कार्यालयका नाममा परमादेश जारी गरेको खबर अदालतका सूचना अधिकारी गोविन्दप्रसाद घिमिरेलाई उद्धृत गर्दै सञ्चार माध्यमहरुले सार्वजनिक गरेका छन् ।

हालका मुख्यमन्त्री उद्धव थापाले लिएको विश्वासको मतलाई इजलासले असंवैधानिक ठहर गरेको आदेशमा जनाइएको छ । थापाले ४६ सांसद र सभामुख बाबुराम गौतमको हस्ताक्षरमा बहुमतीय सरकारको नेतृत्व गर्ने दाबी गरेपछि गत भदौ १ गते संविधानको धारा १६८ काे उपधारा २ बमोजिम थापालाई नियुक्त गरिएको थियो ।

थापा अघि मुख्य मन्त्री रहेका कार्कीले संविधानको धारा १६८ को उपधारा २ बमोजिम बनेको उद्धव थापा नेतृत्वको  सरकार असंवैधानिक रहेकाे दाबी सहित साे सरकार खारेज गरी धारा १६८ काे उपधारा ३ बमाेजिम  नयाँ सरकार गठनका लागि आदेश जारी गर्न माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए ।

प्रदेश शभा बैठकको अध्यक्षतामा रहेका सांसदले पनि मतदान प्रक्रियामा भाग लिएपछि थापाले प्राप्त गरेको विश्वासको मतका विरुद्ध अदालतमा रिट दिइएको थियो ।

भदौ ४ गते मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिँदा ज्येष्ठ सदस्यको हैसियतले संसद चलाएका इस्राइल मन्सुरीले पनि विश्वासको मत दिएपछि एमाले सर्वोच्च गएको थियो।

यसअघि अन्तरिम आदेश जारी गर्दै अदालतले संविधानको धारा १८६ बमोजिम बराबरी भएको अवस्थामा बाहेक प्रदेश सभामा निर्णयका लागि पेश भएको कुनै पनि प्रस्तावमा सभामुखलाई मतदान गर्ने अधिकार नहुने बताइएको थियो ।

नेपालकाे संविधान २०७२ काे धारा १६८ काे उपधारा ३ मा धारा १६८ कै उपधारा २ बमोजिम सरकार गठन हुन नसकेमा प्रदेश सभामा सबैभन्दा ठूलाे दल (सबभन्दा बढी सांसद भएकाे दल) को संसदीय दलका नेतालाई प्रदेश प्रमुखले मुख्यमन्त्रीमा नियुक्त गर्ने व्यवस्था उल्लेख छ ।  काेशी प्रदेश संसदमा एमाले  सबैभन्दा ठूलो दल हो । त्यहाँ कुल ९३ मध्ये ४० जना सांसद एमालेका  छन् ।

संविधानकाे धारा १६८ काे उपधारा २ वा ३ बमोजिम नियुक्त हुने मुख्यमन्त्रीले आफ्नाे  नियुक्तिकाे मितिबाट ३० दिनभित्र प्रदेश सभामा  विश्वासको मत लिनुपर्ने व्यवस्था छ ।

९३ सदस्यीय काेशी प्रदेशसभामा बहुमतका लागि ४७ मत आवश्यक पर्छ । हाल त्यहाँ  एमालेसँग ४० , कांग्रेससँग २९ , माओवादी केन्द्रसँग १३ , नेकपा एससँग ४ र जसपासँग १ सांसद छन् ।
 
 

Comments