• १५ जेष्ठ २०८१, मंगलवार
  • 10:07:47 PM

मुख्यमन्त्री कार्कीले लिए सपथ, तीन मन्त्री र एक राज्यमन्त्री पनि नियुक्त

- भाद्र २३, २०८० मा प्रकाशित


  • भ्युजनेपाल संवाददाता
  • शनिवार, २३ भदाै २०८० / काठमाडौं

कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री हिक्मत कार्कीले शुक्रबार बिराटनगरमा आफ्नाे पद तथा गोपनीयताको सपथग्रहण गरेका छन् ।

सर्वोच्च अदालतले संविधानको धारा १६८ काे उपधारा ३ बमाेजिम मुख्यमन्त्रीमा कार्कीलाई ४८ घण्टाभित्र काेशी प्रदेशकाे मुख्यमन्त्रीमा नियुक्त गर्न बिहिवार परमादेश दिएकाे थियाे । साेही बमाेजिम नियुक्त मुख्यमन्त्री कार्कीलाई प्रदेश प्रमुख परशुराम खापुङले सपथ ग्रहण गराएका हुन् ।

सपथ ग्रहणसँगै मुख्यमन्त्री कार्कीले तीन मन्त्री र एक राज्यमन्त्री पनि नियुक्त गरेका छन् । कार्कीले आफ्नाे नेतृत्वको काेशी प्रदेश मन्त्रीपरिषदमा खानेपानी, सिंचाइ तथा उर्जामन्त्रीमा तिलकुमार मेन्याङ्वो, भौतिक पूर्वाधार मन्त्रीमा एकराज कार्की र  पर्यटन, वन तथा वातावरण मन्त्रीमा पाँचकर्ण राईलाई नियुक्त गरेका छन् । उनले सिर्जना राईलाई सामाजिक विकास राज्यमन्त्री बनाएका छन् । नवनियुक्त मन्त्रीहरु र राज्यमन्त्रीले पनि शुक्रबार नै पद तथा गाेपनियताकाे सपथ ग्रहण गरेका छन् ।

एमाले नेता कार्की दोस्रोपटक काेशी प्रदेशकाे मुख्यमन्त्री बनेका हुन् । यसअघि २०७९ पुस २४ गते पहिलोपटक मुख्यमन्त्री नियुक्त भएका थिए । नेकपा माओवादी केन्द्र समेतकाे समर्थनमा मुख्यमन्त्री बेनेका कार्की माओवादीले सरकार छाेडेसँगै विश्वासको मत पाउन असफल बनेपछि असार १५ मा पदमुक्त भएका थिए। सर्वोच्च अदालतले उनीपछि मुख्यमन्त्री बनेका उद्धव थापाले लिएको विश्वासको मत असंवैधानिक ठहर गरेपछि कार्कीलाई पुनः मुख्यमन्त्री बन्ने माैका मिलेकाे हाे । 

नेपालकाे संविधान २०७२ काे धारा १६८ काे उपधारा ३ मा धारा १६८ कै उपधारा २ बमोजिम सरकार गठन हुन नसकेमा प्रदेश सभामा सबैभन्दा ठूलाे दल (सबभन्दा बढी सांसद भएकाे दल) को संसदीय दलका नेतालाई प्रदेश प्रमुखले मुख्यमन्त्रीमा नियुक्त गर्ने व्यवस्था उल्लेख छ ।

सर्वाेच्च अदालतका न्यायाधीशत्रय सपना प्रधान मल्ल प्रधान,  कुमार चुडाल र नहकुल सुवेदीको पूर्ण इजलासले यही संवैधानिक प्रावधान बमाेजिम  कार्कीलाई  नियुक्त गर्न  प्रदेश प्रमुखका नाममा गत बिहिवार परमादेश दिएकाे थियाे ।  काेशी प्रदेश संसदमा एमाले  सबैभन्दा ठूलो दल हो । त्यहाँ कुल ९३ मध्ये ४० जना सांसद एमालेका  छन् ।

नेपालका संविधान २०७२ काे धारा १६८ काे उपधारा ३ बमोजिम नियुक्त हुने मुख्यमन्त्रीले आफ्नाे  नियुक्तिकाे मितिबाट ३० दिनभित्र प्रदेश सभामा  विश्वासको मत लिनुपर्ने व्यवस्था छ ।

९३ सदस्यीय काेशी प्रदेशसभामा बहुमतका लागि ४७ मत आवश्यक पर्छ । हाल त्यहाँ  एमालेसँग ४० , कांग्रेससँग २९ , माओवादी केन्द्रसँग १३ , नेकपा एससँग ४ र जसपासँग १ सांसद छन् ।

Comments