• १५ जेष्ठ २०८१, मंगलवार
  • 10:54:48 PM

जुरेमा फेरि पहिराे

- भाद्र २५, २०८० मा प्रकाशित


  • लक्ष्मी पराजुली
  • साेमवार , २५ भदाै २०८० / सिन्धुपाल्चोक

२०७१ साउन १६ गते रातिकाे भयानक विनाशकारी पहिराेका कारण चर्चित सिन्धुपाल्चोककाे जुरेमा आज बिहान फेरि ठूलाे सुख्खा पहिराे गएकाे छ ।

साेमवार बिहान ९ बजदेखि इटिनी भिरबाट सुरु भएकाे सुख्खा पहिराे खस्ने क्रम अहिले पनि जारी छ । स्थानीयवासीका अनुसार आजकाे पहिराेले हालसम्म कुनै मानवीय क्षति पुर्‍याएकाे भने छैन ।

२०७१ साउनकाे पहिराे सम्झँदै जुरे निवासी कृष्णप्रसाद पाैडेल भन्छन्, “त्याे पहिराेकाे त्यत्राे क्षति नै हामीले अझै बिर्सन सकेका छैनौं र जीवनभर बिर्सन सक्दैनौं पनि।” पहिराेका कारण आफ्ना कयौं छिमेकी र नातागाेता पिडित र विस्थापित हुनुपरेकामा असाध्यै दु:ख लागेकाे र नयाँ पहिराे जान थालेपछि आफूहरु झन् धेरै चिन्तामा परेकाे उनले बताए । ”हामीले पनि आफ्नाे थाँतथलाे नै छाेडेर अन्यत्र भाग्न बाध्य हुनुपर्ला कि भन्ने चिन्ता पाे थपियाे”, थप चिन्ता व्यक्त गर्दै पाैडेलले भने ।

पहिराे खस्न सुरु भएकाे इटिनीभिर र त्यस तलका स्थान अहिले पुरै खाली छन् । नाै वर्ष अघिदेखि अर्थात् २०७१ साल साउन १६ गते राति गएकाे पहिराेकै कारणले ती स्थानका वस्तीहरु विस्थापित भएका हुन् । त्यसैले ठूलै भएपनि अहिलेकाे सुख्खा पहिराेले त्यहाँ हालसम्म कुनै उल्लेख्य क्षति पुर्‍याउन नसककाे स्थानीय जानुकीराम पराजुलीले जानकारी दिए ।

२०७१ साउन १६ गते राति बलेफी गाउँपालिका वडा नम्बर ८ र बाह्रबिसे नगरपालिका वडा नम्बर ९ काे सिमानास्थित इटिनी भिर खस्दा आएकाे जुरे पहिराेका कारण २४ घण्टा सुनकाेशी नदी थुनिएको थियाे । पहिराेले अरनिकाे सडककाे ड्यामसाइट- जुरे खण्ड, इटिनी, कागुने, जुरे, ड्यामसाइट, दाबी, आदि ठाउँमा अवस्थित गाउँ र वस्तीहरु पुरिएका थिए । पहिराेमा परि १३४ जना स्थानीय सहित ठूलो संख्यामा जनधनकाे क्षति समेत भएकाे थियाे ।

जुरेपहिराे पिडित स्थानीयले हालसम्म पनि आवश्यकता अनुसार पर्याप्त क्षतिपूर्ति पाउन सकेका छैनन् । वर्षायाममा सुख्खा पहिराे खस्न सुरु भएसँगै स्थानीयवासीबिच थप त्रास पैदा भएकाे छ ।

Comments