• १५ जेष्ठ २०८१, मंगलवार
  • 9:44:06 PM

एमाले नेता सुवास नेम्वाङकाे निधन

- भाद्र २६, २०८० मा प्रकाशित


भ्युजनेपाल

मंगलवार , २६ भदाै २०८० \ काठमाडौं

एमालेका नेता सुवासचन्द्र नेम्वाङको आज बिहान हृदयघातका कारण निधन भएको छ । 

हृदयघात भएपछि बालुवाटार निवासबाट नेम्वाङलाई महराजस्थित त्रिवि शिक्षण अस्पताल (टिचिङ हस्पिटल) पुर्‍याइएकाे थियाे । मध्यराति १:२० बजे हृदयघात भए लगत्तै बढीमा आधा घण्टा बिच अस्पताल पुर्‍याइए पनि अस्पताल लैजाँदै गर्दा बाटैमा उनकाे मृत्यु भैसकेकाे चिकित्सकले बताएका थिए । ७१ वर्षीय नेम्वाङ दिवङ्गत भएकाे ओैपचारिक घाेषणा भने बिहान ४ बजे गरिएकाे हाे ।

नेम्बाङकाे मृत्युको खबर पाए लगत्तै प्रधानमन्त्री पुष्पकमल दाहाल , सभामुख देवराज घिमिरे, एमाले अध्यक्ष केपी ओली लगायत नेता तथा नेकपा एमालेका अन्य थुप्रै नेता- कार्यकर्ताहरु अस्पताल पुगेका थिए ।

एमाले उपाध्यक्ष एवम् संसदीय दलका उपनेता नेम्वाङ ईलामबाट निर्वाचित सांसद हुन् । २०५६ काे आम चुनाव यता उनले संसदमा निरन्तर ईलामेली जनताकाे  प्रतिनिधित्व गर्दै आएका थिए । पूर्वसभामुख र राष्ट्रियसभा सदस्य समेत रहेका उनले पहिलाे र दाेस्राे संविधानसभाकाे अध्यक्षमा रुपमा संविधान निर्माणकाे नेतृत्व गरेका थिए । नेपालकाे संविधान २०७२ काे निर्माण र जारी गर्ने कामकाे नेतृत्वपछि नेपाली राजनीतिमा उनकाे ख्याति धेरै चुलिएकाे थियाे ।

सरल, शालीन, नम्र र मिजासिला नेम्वाङकाे मृत्युबाट सिङ्गाे नेपाल , नेपाली जनता र नेकपा एमालेले एक असल अभिभावक गुमाएकाे भन्दै एमाले नेता केपी ओलीले गहिराे शाेक र चिन्ता व्यक्त गरेका छन् । ओलीले नेम्वाङ आफ्नाे दु:खकाे बेलाकाे अत्यन्तै असल साथी रहेकाे बताए ।

२००९ फागुन २८ गते ईलामकाे सुन्तलाबारी भन्ने ठाउँमा जन्मिएका नेम्वाङका श्रीमती , दुई छोरा र दुई छोरी छन् ।

(अपडेट – २०८०-०५-२६ मंगलवार बिहान ११ :४०):

नेम्वाङकाे पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि भाेलिसम्म ललितपुरकाे च्यासलस्थित नेकपा एमालेकाे केन्द्रीय कार्यालय परिसरमा राखिने भएकाे छ ।

Comments