• १५ जेष्ठ २०८१, मंगलवार
  • 11:23:05 PM

नेम्वाङकाे अन्त्येष्टि बिहिवार गरिने

- भाद्र २७, २०८० मा प्रकाशित


राजकीय सम्मान साथ लिम्बू र हिन्दु परम्परा अनुसार अन्त्येष्टि हुने

  • भ्युजनेपाल
  • बुधवार, २७ भदाै २०८० \ काठमाडौं


मंगलबार बिहान दिवंगत भएका एमाले नेता सुवासचन्द्र नेम्वाङकाे अन्त्येष्टि बिहिवार हुने भएकाे छ । बिहिवार राजकीय सम्मानका साथ उनकाे अन्तिम संस्कार हिन्दु र लिम्बू दुबै परम्परानुसार हुने बताइएको छ ।

केहीबेर अघि मात्रै नेम्वाङकाे पार्थिव शरीरलाई एमाले मुख्यालय च्यासलबाट बालुवाटारस्थित निवासमा लगिएकाे छ । निवासमा परिवारले लिम्बू परम्परा अनुसारकाे अन्तिम संस्कारकाे विधि गर्नेछन् ।

मंगलवार  बिहानदेखि नै नेम्वाङकाे पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि च्यासलस्थित एमाले मुख्यालयमा राखिएको थियाे । हिजाे बिहानदेखि दिनभर र आज दिउँसो १ बजेसम्म एमाले केन्द्रीय कार्यालयमा नेम्वाङप्रति अन्तिम श्रद्धाञ्जली अर्पण गर्न आउनेहरुकाे घुइँचो देखिन्थ्यो । प्रधानमन्त्री, मन्त्री, सांसद, संवैधानिक नियाेगका प्रमुख, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीका प्रमुख, विभिन्न देशका राजदुत , विभिन्न पार्टीका नेता -कार्यकर्ता लगायत पूर्व एवम् बहालवाला विशिष्ट र वरिष्ठ नेता तथा कर्मचारी लगायतकाे निकै बाक्लाे उपस्थिति रहेकाे थियाे । नेकपा एमालेका अधिकांश नेता तथा कार्यकर्ताका साथै आम नागरिकहरु समेतकाे बाक्लाे उपस्थिति र आवतजावतका कारण हिजाे बिहानदेखि बेलुका ५ बजेसम्म एमाले केन्द्रीय कार्यालय परिसरमा ठूलाे भिड लागेकाे देख्न सकिन्थ्यो । त्याे क्रम आज पनि केही बेर अघिसम्म जारी रह्याे ।

नेकपा एमालेले मंगलवार दिउँसो २:३० बजे सुचना जारी गर्दै बेलुका ५ बजेपछि श्रद्धाञ्जली कार्यक्रम स्थगन गरिने र बुधवार बिहानदेखि दिउँसाे १ बजेसम्मका लागि फेरि सुचारु हुने ओैपचारिक जानकारी गराएकाे थियाे ।

नेम्वाङका दुबै छाेरा देश बाहिर रहेका जानकारी पनि पारिवारिक स्राेतलाई उल्लेख गर्दै सञ्चारमाध्यमा आएका थिए । उनीहरु आइपुगेपछि मात्रै अन्तिम संस्कारकाे विधि सुरु गर्ने र त्यस अघिसम्म श्रद्धाञ्जलीकाे कार्यक्रमलाई निरन्तरता दिने पार्टीको याेजना थियाे ।

नेम्वाङका जेठा छाेरा बेलायतबाट र कान्छा छाेरा अस्ट्रेलियाबाट बिहान काठमाडौं आइपुगेका थिए । छाेराहरु, जेठा मिङ्साे र कान्छा सुहाङले पार्टी कार्यालय च्यासलमा पुगेर बुवालाई आज बिहान अन्तिम श्रद्धाञ्जली दिएका थिए । त्यसपछि नेम्वाङकाे शवलाई लिम्बू विधि अनुसार अन्तिम संस्कार गर्नका लागि निवासमा लगिएकाे नेम्वाङका स्वकीय सचिव कृष्ण काफ्लेले बताए ।

एमाले सल्लाहकार परिषदका अध्यक्ष अमृतकुमार बाेहाराले बताए अनुसार परिवारले लिम्बू विधिबाट अन्तिम संस्कार  गरेपछि नेम्वाङको भोलि ११ बजे हिन्दु  परम्पराअनुसार पशुपति आर्यघाटमा दाहसंस्कार  गरिने तय भएकाे छ ।

नेम्वाङकाे हृदयघातका कारण मंगलवार बिहान मृत्यु भएकाे थियाे । विभिन्न समाचार माध्यम र सामाजिक सञ्जालमा साे समाचार फैलने बित्तिकै सरकारले मन्त्रीपरिषद बैठक बाेलाएकाे थियाे । साे बैठकले नेम्वाङकाे अन्त्येष्टि राजकीय सम्मानका साथ गरिने निर्णय गरेकाे छ ।  सरकारले नेम्वाङको निधनमा शोक प्रस्ताव पारित गर्दै अन्त्येष्टिका दिन सार्वजनिक शाेक विदाकाे घोषणा पनि गरेको छ ।

नेकपा एमालेले सांसद र संसदीय दलका उपनेता समेत रहेका आफ्ना उपाध्यक्ष सुवास नेम्वाङको निधनको शोकमा तीन दिन देशभरका पार्टी कार्यालयहरूमा झण्डा आधा झुकाउने निर्णय गरेको छ । याेसँगै  २०८० भदाै २६ देखि २८ गतेसम्म देशभर पार्टीका शाेकसभा बाहेकका सबै औपचारिक कार्यक्रमहरू स्थगित गरिएको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिएका छन् ।

यसैबिच एमालेकाे देशभरका भिन्न तहका विभिन कमिटीहरुले नेता सुवास नेम्वाङकाे निधनप्रति गहिराे शाेक व्यक्त गर्दै शाेकसभाहरु आयाेजना गरिरहेका छन् ।

Comments