• १५ जेष्ठ २०८१, मंगलवार
  • 11:36:13 PM

सरकारसँग छ बुँदे सम्झाैता गरेसँगै डाक्टरहरुकाे आन्दाेलन फिर्ता

- आश्विन १३, २०८० मा प्रकाशित


  • भ्युजनेपाल
  • शनिबार ,१३ असाेज २०८० / काठमाडौं

सरकारले आन्दोलनरत डाक्टरसँग आज काठमाडौंमा छ बुँदे  सहमति गरेको छ  । शनिबार गृह मन्त्रालयमा  सरकारका प्रतिनिधिले आन्दाेलनरत डाक्टरसँग गरेकाे छलफलपछि आन्दाेलन राेक्ने सहमति जुटेको हो ।

गृहमन्त्रीकाे राेहवरमा भएकाे सहमतिमा सरकारका तर्फबाट स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका निमित्त सचिव डा. दिपेन्द्ररमण सिंह र आन्दोलनरत डाक्टरहरुकाे तर्फबाट सुरक्षित कार्यस्थल संघर्ष समितिका संयोजक डा. शेषराज घिमिरेले हस्ताक्षर गरेका छन् ।

सहमतिपत्रमा दुबै पक्षले हस्ताक्षर गरेसँगै डाक्टरहरुकाे आन्दाेलनका सबै कार्यक्रम फिर्ता  भएका छन् ।

देशभरका थुप्रै अस्पतालमा बिरामीकाे मृत्युु लगायतका विषयलाई लिएर डाक्टर र अन्य स्वास्थ्यकर्मीमाथि  हमलाकाे घटनाहरु पटक – पटक सार्वजनिक हुने गरेका छन् । पछिल्लो समय त्यस्ता सांघातिक आक्रमणका घटना झन् झन् बढ्न थालेकाे भन्दै साेकाे  राेकथामकाे मुख्य माग राखेर देशभरका डाक्टरहरु आन्दाेलित थिए । त्यस्ता घटनाका दोषीलाई तत्काल कारबाही र डाक्टर,नर्स लगायत उपचारमा संलग्न स्वास्थकर्मीकाे सुरक्षा प्रत्याभूतिकाे माग राखेर चिकित्सकले सुरक्षित कार्यस्थल संघर्ष समिति समेत खडा गरि देशव्यापी आन्दाेलन थालेका थिए ।

सरकारले विरामीकाे उपचारमा संलग्न स्वास्थकर्मीमाथि हुने गरेका आक्रमणका घटनाहरु सकेसम्म हुनै नदिन त्यस्ता घटनाहरुकाे पूर्ण राेकथाममा लाग्ने सहमति गरेकाे छ ।  त्यसका लागि विद्यमान कानुन बाधक या अपुग भए कानुन संशोधनकाे व्यवस्था मिलाउने प्रतिबद्धता समेत सरकारले जनाएको छ । यदि स्वास्थकर्मीमाथि हमलाका  घटना भैहालेमा दाेषीलाई तत्काल पक्राउ गरि कारबाही गर्ने प्रतिबद्धता पनि सहमतिपत्रमा उल्लेखित छ ।

Comments