• १५ जेष्ठ २०८१, मंगलवार
  • 10:39:29 PM

धनकुटामा ओलीमाथि आक्रमण प्रयासकाे प्रतिकार गर्ने जगत भन्छन्, ‘संगठित र वैचारिक शक्तिसँग भिड्ने दुस्साहस कसैले नगरे हुन्छ’

- पुष १४, २०८० मा प्रकाशित


भ्युज नेेपाल / सिन्धुपाल्चोक

१४ पुस २०८०, शनिबार

जगत बहादुर तामाङ राष्ट्रिय युवा संघ नेपाल, सिन्धुपाल्चाेकका नेता हुन् । उनी राष्ट्रिय युवा संघ नेपाल, बाह्रविशे नगर कमिटीका ईन्चार्ज समेत रहिसकेका छन् । बाह्रविशे नगरपालिका वडा नम्बर ६ का स्थायी बासिन्दा तामाङ सिन्धु-एमालेका एक सशक्त सिपाहीकाे छवि बनाएका पुराना कार्यकर्ता संखजित तामाङका छाेरा हुन् ।

एमालेका युवा नेता जगतकाे स्वभाव सानै उमेर देखि जुझारु रहिआएको छ । आफ्नाे लडाकु स्वभावकाे जुझारुपनलाई उनले सदा सामाजिक हित र न्यायका निम्ति लगाउँदै आएका छन् । २०७४ मा भएकाे स्थानीय निर्वाचनमा बाह्रविशेका जनताको मतको सुरक्षा गर्न जगतले असाधारण भूमिका निर्वाह गरेका कुराले निकै चर्चा पाएकाे थियाे । तामाङ हाल नेकपा एमाले बागमती प्रदेश प्रतिनिधि परिषदका सदस्य हुन् भने पार्टीकाे भातृसंगठन, लोकतान्त्रिक तामाङ संघमा पनि उनी केन्द्रीय सदस्यकाे जिम्मेवारीमा छन् ।

तामाङ नेेेकपा एमालेले मध्य पहाडी नेपालकाे समृद्धिकाे मुख्य उद्देश्य राखेर गत मंसिर १४ देखि पुस २ गतेसम्म बैतडीको झुलाघाटबाट पाँचथरकाे चिवा भञ्ज्याङसम्म तय गरेकाे ‘समृद्धिका लागि संकल्प यात्रा’मा मुख्य नेतृत्वसँगसँगैका सहयात्री पनि हुन् । यात्रा क्रममा धनकुटामा अध्यक्ष केपी ओलीमाथि भएकाे आक्रमण प्रयासकाे प्रतिकार गर्ने र निष्फल पार्ने पहिलाे व्यक्ति यिनै तामाङ हुन् ।

भ्युज नेपालले उनै तामाङसँग समसामयिक राजनीतिक विषयका साथै खासगरी नेकपा एमालेकाे गत पुस २ मा सम्पन्न ‘समृद्धिका लागि संकल्प यात्रा’का विषय केन्द्रीत सवालजवाफ गरेकाे छ । प्रस्तुत छ उक्त कुराकानीकाे मुख्य अंश ।

प्रश्नमध्य पहाडी लोकमार्ग केन्द्रीत अभियानकाे समाप्ति र त्यसको समिक्षा गरिसकेसँगै तपाईंको पार्टी नयाँ कामको योजना बनाउँदै छ भन्ने सुनियो । त्याे अभियानबारे तपाईंकाे आफ्नै अनुभव र यसबाट तपाईंको सिकाई चाहिँ के-कस्तो रह्यो ?

जवाफ – झुुुुलाघाट- चिवाभञ्याङ् यात्रा मेरा लागि जीवनकै एक अविस्मरणीय यात्रा रह्य‍ो । यसबाट मेरो राजनीतिक जीवनमा निकेै महत्वपुर्ण अनुभव थपिएको छ । पहाडी भुगोल र समाजलाई धेरथोर बुझ्ने मौका मिल्यो । पार्टीप्रति जनताको गहिरो बिश्वास र भरोसालाई अनुभुति गर्ने अवसर मिल्यो । पार्टी नेतृत्वसँग २३ दिन सँगसँगै यात्रा गर्दा धेरै कुराहरु सिक्ने मौका पाएँ । मैले यो बीचमा जे कुरा सिकेँ त्यो सबै कुरा व्यक्त गर्न थोरै समयले पुग्दैन ।

प्रश्न:- तपाईंको पार्टी अध्यक्ष केपी ओलीमाथी धनकुटामा आक्रमणको प्रयास पनि भयाे भन्ने बुझियाे । उक्त प्रयास हुँदा तपाईं ओलीसँग ठ्याक्कै नजिकै हुनुहुन्थ्य‍ो भन्ने चर्चा छ । त्यो घट्नाबारे केही बताइदिन सक्नुहुन्छ ?

जवाफ:- म युवा संघका अध्यक्ष कमरेड क्षितिज थेबेको टिममा थिएँ । हाम्रो टिमकाे जिम्मेवारी ठुलो थियाे । हामीले धेरै काम गर्नुपर्थ्यो । यात्राभर मुख्य नेतृत्वसँग हामी सँगसँगै रह्याैं । यात्रामा प्रयाेग भएका धेरै गाडी मध्ये मैले हाँकेकाे गाडी ७ नम्बर र्‍याङ्कमा थिय‍ो । यसकाे मतलब हामी अध्यक्ष लगायतका मुख्य नेता कमरेडकाे सुरक्षाका लागि सँगसँगै यात्रारत थियाैं ।

तर परिस्थितिको जटिलताले त्यस दिन हामी त्यहाँ (धनकुटाकाे लेगुवा) केहिबेर पहिल्यै पुग्याैं । मैले हाँकेकै गाडीमा सिंगो यात्रामा कमण्डरको भूमिका निर्वाह गर्नुहुने प्रदिप ज्ञावली कमरेड र युवा नेता किरण पौडेल कमरेड पनि हुनुहन्थ्यो । त्यो टिम धेरै महत्त्वपूर्ण टिम थियो । हाम्राे उक्त टिमले यात्रामा सवार गाडीहरु रुट मिलाएर चलाउने, फोट‍ो वा लाईभ मार्फत कार्यक्रमको प्रचार गर्ने, नेतृत्वको सुरक्षा गर्ने लगायत थुप्रै कामकाे व्यवस्थापन हेर्नु पर्थ्यो । धनकुटा जिल्ला प्रवेश गर्दा स्वागतको लाईनमा छिरेकाे एकजनाले अध्यक्ष कमरेडलाई नियोजित रुपमा झम्टन खोज्याे । अध्यक्ष कमरेडका अंगरक्षकले त्याे झम्टनेलाई ब्लक गरे । तत्काल मैले त्यसलाई चार्ज गरिहालें र नियन्त्रणमा लिन सघाएँ । स्थिति असमान्य हुनसक्ने बुझेर नै मैले त्यो मान्छेलाई कब्जामा लिएक‍ो हुँ । कमरेड क्षितिजले नजोगाउनु भएको भए भीडकाे आक्रोसमा त्यहाँ जे पनि हुन सक्थ्यो । तर हामी सबैकाे सुझबुझले स्थिति साम्य भाे ।


प्रश्न :- तपाईं यस्ता घट्नाकाे सम्भाव्य अप्रियता राेक्न एक निकै कुशल खेलाडी हाे भन्ने सुनिएकै हाे । फेरि पनि एउटा जिज्ञासा राखौं कि कोशी प्रदेशमा एमालेकाे यो अभियानलाई असफल बनाउन धेरै तत्त्व सक्रिय थियो भनिन्छ । तपाईंहरुले कसरी ती तत्त्वलाई ब्याक गराउनु भयो र अभियान सफल पार्न सक्नुभयाे ?

जवाफ :- हाम्रो राष्ट्रिय युवा संघ नेपाल नेकपा एमालेकाे अत्यन्तै सशक्त र जुझारु शक्ति हाे । याे संगठन नेपालभरका सबै प्रदेशमा सबल र सक्षम छ । काेशीमा झन् याे धेरै सक्षम र शक्तिशाली छ । पार्टी र यसको नेतृत्वक‍ो रक्षा गर्ने काम युवा संघको पहिलो काम हो । हाम्रो युवा संघ मात्रै हाेइन नेकपा एमालेका सबै जनवर्गीय संगठन निकै सुविचारित, सबल, सक्षम र सशक्त छन् । नेकपा एमाले जस्ताे संगठित र बैचारिक शक्तिसंग भिड्ने दुस्साहस कहिँ कतै कसैले नगरे हुन्छ ।

प्रश्न :- एमाले पार्टीको बागमती प्रदेश अधिवेशनको प्रतिनिधि छनौटमा तपाईंको मनोनयनलाई लिएर पार्टीभित्रैका केही ‘अराजकहरु’ले समस्या सृजना गरे भन्ने तपाईंहरुकाे आराेप , गुनासाे र चर्चा छ । वास्तवमा खास कुरा चाहिँ के हो ?

जवाफ :- म राष्ट्रिय युवा संघ नेपाल र सिङ्गो एमाले पार्टीको बफादार सिपाही हुँ । नेतृत्वले मेरो कामको मुल्याङ्न गरेरै सायद मलाई प्रतिनिधि बनाएको हुनुपर्छ । सिन्धुपाल्चोकमा पार्टी नेतृत्वलाई जथाभावी मुख छोड्ने र धम्क्याउने काम नभएको हैन । पार्टी हितको लागि हामी यस्ता प्रवृतिको अन्त्य होस भन्ने चाहान्छौं । त्यसको निम्ति दृढता पुर्वक हामी क्रियाशील छाैं र सधैं क्रियाशील रहने छाैं । हामी पार्टी भित्रका त्यस्ता जुनसुकै अराजक तत्त्वका ज्यादती सहन फिटिक्कै सक्तैनाैं । सांगठनिक अराजकता कसैले पनि सहनु हुँदैन । हामी पार्टीका सबै नेता वा कार्यकर्तालाई जुनसुकै किसिमकाे अराजकता अस्वीकार गर्न अनुराेध गर्छाैं । यो वा त्यो बहानामा अराजकताकाे संरक्षण नगर्न पनि आव्हान गर्दछौं । यदि कसैले पार्टीभित्र वा समाजमा अराजकता मच्चाउँछ भने त्यसलाई युवा संघले हर हालतमा परास्त गर्नेछ। हाम्राे संगठन अब यस ढंगले परिचालित हुन्छ ।

Comments